कविता: प्रिय सीता !

अन्ततः तिमीले पनि छोड्यौ
पहिले छोरीले छोडी
त्यसपछि छोराले छोड्यो…..
अहो ! छोडिनु नै जीवन रहेछ।
उच्च पदासीन रहँदैमा
मृत्युलाई रोक्न-छेक्न नसकिने रहेछ सीता !
मेरो सपना
मेरो महत्त्वाकाङ्क्षा
क्रान्तिको भुतभुतेमा सल्किएर
कति जीवित रहरहरू भस्मिभूत भए
नाम मेरो चल्यो
बदनाम मेरो भयो
आखिर धरहरा ढल्यो ।
हिजो के भो, कसो भो
साक्षी तिमी थियौ
कति कुरामा तिम्रो असहमति थियो।
परन्तु म तिम्रो मायाले
तिम्रो छायाले
मानिस बनेको हुँ ।
ताकेको मुढो थियो
किन्तु घुँडो छिनियो ।

प्रिय सीता !
म प्रतिपल पश्चात्तापको अग्निमा जलिरहेछु……
आगो सल्काउन सजिलो रहेछ
आगो निभाउन गाह्रो !
अपार माया छोडेर गयौ
आदर्श छाया छोडेर गयौ
दुई छोरीको अनुहारमा
तिम्रो जीवन्तता बोध हुनेछ।

हिजो पुष्पकमल दन्केर प्रचण्ड
आज प्रचण्ड पग्लेर पुष्पकमल
आँसुको नदीमा पौडिरहेछ
साँच्चै पीडा हुँदोरहेछ
मुटु गुमाउँदा !

म सीमा नाघेर उग्र
तिमी आदर्शका लागि व्यग्र
मैले तिमीलाई बुझ्नैसकिनँ
जति तिमी थियौ !
म शाहजहाँ झैँ पग्लिएर
ताजमहल बनाउन पनि सक्तिनँ
म घिमिरेले झैँ गौरी जन्माउन पनि सक्तिनँ !
मेरो सृजनाको बीज
उही दस वर्षमा मरिसकेको छ !

प्रिय सीता !
मेरो हृदयभरि छौ
मेरो सम्झनाभरि छौ !
दुःख छ यत्ति
म राम बन्न सकिनँ !

 

शैलेन्दुप्रकाश नेपाल