काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा दिगो रूपमा वितरणको योजना बनाउन निर्देशन दिनुभएको छ ।
मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब कुनै समस्या आएमा तुरुन्त समाधान गरी दिगो रूपमा खानेपानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । कुनै समस्या आएमा तत्काल सरकार र मन्त्रालयले व्यवस्थापनको काम गर्ने उहाँले बताउनुभयो ।
दीर्घकालीन रूपमा समस्या समाधान नहुँदासम्म हरेक वर्ष मनसुनको बेलामा सुरुङ जोगाउन पानी वितरण गर्न नसकेको भन्दै उहाँले यसले उपभोक्तालाई परेको प्रभावप्रति दुःख व्यक्त गर्नुभयो । यस वर्षको बाढीले खानेपानीको हेडमा गत वर्ष भन्दा धेरै क्षति पुर्याएकोले पानी वितरणमा केही ढिलाइ भएको दाहालले बताउनुभयो ।
दिगो व्यवस्थापनका लागि आयोजनाको कामलाई अघि बढाइने उहाँले बताउनुभयो । उहाँले वैकल्पिक तरिकाबाट पनि नियमित पानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले मेलम्चीको पानी चौबीसै घण्टा काठमाडौं आउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । ‘आम उपभोक्तालाई बाह्रै महिना सहज र समान रूपमा खानेपानीको आपूर्ति गर्न मन्त्रालयमार्फत सम्पूर्ण निकायलाई निर्देशित गर्दछु’, उहाँले भन्नुभयो ।
दाहालले २८ दिनको सघन कार्ययोजनाका साथ मेलम्ची पानी पथान्तरण गर्न कार्य तोकिएको समय अगाडि नै सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्य अगाडि बढाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्नुभयो ।