Trending Now

सुन प्रकरणमा बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ ।

ब्युरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाण्डाैबाट खटिएको टोलीले बुटबलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरमा रहेकाे महाराजा रिसोर्टको क्याबिनमा नौ लाख ५० हजार रुपैयाँ रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

त्यसपछि उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र इप्रका बुटबलका डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि डीएसपी केसीको निवास लक्ष्मीनगरमा पुगेर उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

केसीकाे घरमा खानतलासी गर्दा आठ लाख ५० हजार रुपैयाँ नगद फेला पारी बरामद गरिएको पनि उहाँले बताउनुभयो । बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी र खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित गराइएकाे पनि उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनले व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप छ ।

Comments are closed.