चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, ४ भदौ

सार्वजनिक सवारी साधनमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सिटमा सवार यात्रुलाई बिस्कुटमा स्लिपिङ्ग ट्याब्लेट मिसाई खुवाई बेहोस बनाई निजको धनामाल चोरी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । बेहोस भएका यात्रुलाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ ।

साथै परियारको साथबाट ओरियो बिष्कुट ३ प्याकेट, घडी ४ थान, पर्स २ थान,  एटिएम कार्ड २ थान, नगद १४ हजार ५ सय २० रूपैयाँ, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ थान, पावर बैंक १ थान, सिम कार्ड ४ थान, र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित) को पत्ता २ थान प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।