नक्कली करारनामा बनाई ठगी गरेको अभियोगमा पक्राउ       

  काठमाडौं, १७ कात्तिक

नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१७ घर भई सोही महानगरपालिका-१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक गरी उक्त रुपैयाँमा ठगी गर्ने कार्यमा संलग्न उनलाई पर्सा वीरगंज महानगरपालिका-८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।