Trending Now

९ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने दुईजना पक्राउ

रौतहट : बालकको हत्या गर्ने २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बालकको हत्या गर्ने दुईजना अभियुक्तलाई ४१ दिनको लामो अनुसन्धानपश्चात पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले दिएको जानकारीअनुसार रौतहटको माधवनारायण नगरपालिका–८ पिप्राराजवाडा बस्ने जयकिशोरप्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायणप्रसाद कुशवाहा मंसिर २५ गते दिउँसो ४ बजे बेपत्ता भएका थिए।

प्रहरीले  निकै खोजतलास एवं शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै गए पनि बालकको पत्तो लागेन तर पुस १ गते दिउँसो करिब साढे ४ बजे गाउँछेउमै रहेको वागमती नदीको पानीमा बालकको शव फेला परेपछि प्रहरीले विशेष टोली बनाएर गहन अनुसन्धान थालेको एसपी मगरले बताए।

प्रहरीको सूक्ष्म अनुसन्धानको क्रममा मृतकका बुवा जयकिशोरसँग नातामा काका पर्ने जयराम महतो कोइरीको जग्गासम्बन्धी पुरानो रिसइबी रहेको खुल्यो।

सोही गाउँ बस्ने ३३ वर्षीय जयरामले आफ्ना छिमेकी ३७ वर्षीय संजयराम सँग मिलेर बालकको मुख थुनेर हत्या गरी वागमती नदीमा फालेको स्वीकारेपछि प्रहरीले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आज उनीहरुलाई सार्वजनिक गरेको उनले बताए।

प्रहरीलाई अभियुक्त जयरामले दिएको बयानअनुसार बालकलाई बेपत्ता पारेकै दिन राति गाउँ बाहिर रहेको गोठमा बाँधेर मुख थुनी हत्या गरेका थिए।

गोठमै त्रिपालले बालकको शव छोपेर राखे। भोलिपल्ट मंसिर २६ गते राति १२ बजे गोठबाट शव झिकेर परालमुनि लुकाए। बालकलाई खोज्न दुवै अभियुक्त बालकका अभिभावकसँगै दिनभरि जाने गरेका थिए।

तर शव गन्हाउन थालेपछि २० गते राति बोरामा हालेर वागमतीमा फालेपछि पुस १ गते शव प्रहरीले बरामद गर्न सफल भएको थियो।

अभियुक्तहरूले हत्यालाई बेपत्ताको रुपमा परिवर्तित गरेको हुँदा प्रहरीलाई अनुसन्धान गर्न विविध उपकरण प्रयोग गर्नुका साथै १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा दुवै अभियुक्तले अपराध गरेको स्वीकारेपछि उनीहरूको बयानका आधारमा दसीप्रमाण फेला पारेर प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सफल भएको एसपी मगरले स्पष्ट पारे।

Comments are closed.