झापा र सप्तरीबाट पटाका बरामद

काठमाडौं, ५ कात्तिक

झापा, दमक नगरपालिका-८ सेतुमारीस्थित बाँसघारीबाट करिब १ लाख ४२ हजार ३ सय रुपैयाँ बराबरको पटाका शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त बाँसघारीमा झारपातले छोपी राखेको अवस्थामा उक्त पटाका फेला पारी बरामद गरेको हो ।

सप्तरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका-६ स्थित पुलको छेउबाट ४१ हजार रुपैयाँ बराबरको पटाका शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ । बोरामा उक्त पटका लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माहुलिबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।