पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको छ ।बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।यसमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा बिचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै किर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।यसका लागि मोरङका केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रतीकले विज्ञप्ति जारी गर्दै ‘संवेदनशील विषय भएकाले छानबिनमा सहयोग गर्ने’ बताएका थिए । तर, अहिलेसम्म उनी फरार थिए ।त्यसबेला उनले मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका थिए ।यद्यपि, भुटानी शरणार्थी प्रकरणका पीडित प्रेमराज पन्थीले उनलाई एक करोड रुपैयाँ घुस दिएको जाहेरीमा उल्लेख गरेका थिए ।नक्सालस्थित नीलगिरि रेष्टुरेन्ट बाहिर पार्किङ गरिराखेको गाडीमा चिरञ्जीवी आचार्य मार्फत आएको रकम केशव दुलाल र प्रतीक थापालाई दिएको उनले भनेका छन् ।पछि सोही स्थानमा ४८ लाख रुपैयाँ फिर्ता लिएको पनि उनले भनेका छन् ।