ललितपुरमा एटिएम तोडफोड, भाग्दै गर्दा ४ जना पक्राउ

ललितपुरमा एटिएम तोडफोड गरेर भाग्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो ३ बजेतिर एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटिएम तोडफोड भएको हो।

एटिएम तोडफोड गरेर भाग्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। थप दुई जना पनि पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका चौघरेका २५ वर्षीय कुशल लामा, धादिङका २३ वर्षीय सन्तोष तामाङ, मकवानपुरको भिमफेदीका २३ वर्षीय कान्छाराम तामाङ रमहोत्तरीको बर्दिवासका २० वर्षीय विश्वास मगर रहेका छन्।

सुरुमा २ जना महालक्ष्मीथानबाट भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। पछि अरु पनि संलग्न रहेको खुलेपछि बाँकी २ जनालाई पनि पक्राउ गरिएको ललितपुर प्हरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

एटिएम तोड्नु अघि उनीहरुले ताल्छिखेलमा पनि फोटो स्टुडियोमा चोरी गरेको खुलेको छ। त्यहाँ चोरेर ट्याक्सीमा भागेका उनीहरुले एकान्तकुनामा पुगेर एटिएम तोडफोड गरेका थिए।

उनीहरुविरुद्ध अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

Comments are closed.