अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ५ किलोग्राम सहित काभ्रे मण्डन देउपुर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, कौडेना गाउँपालिका-१ लक्ष्मीपुर सुखचैनाबाट अवैध लागूऔषध गाँजा करिब १ सय २२ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.८ च १८५३ नम्बरको कारका चालकले कार लक गरी फरार भएपछि प्रहरीले कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.