अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, २१ कात्तिक

सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवनस्थित भित्री सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाई रहेका छन् । प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा.११ च ३०४२ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडी चालक मनिस र गाडीका सहचालक योगेन्द्रलाई पक्राउ गरेको हो ।

            बारा, निजगढ नगरपालिका-१२ रामथलीबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित सोही नगरपालिका-१२ बस्ने ५८ वर्षीय प्रेम बहादुर लो लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट रतनपुरतर्फ काधमा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट रतनपुर र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ लागूऔषध फाली भाग्न खोजे पश्चात उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१० बस्ने २० वर्षीया प्रिती रानालाई अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-३ मायामेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले फेला पारी जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको हो ।

नवलपरासी(पूर्व), गैडाकोट नगरपालिका-२ बस्ने ४१ वर्षीय बिनोद सुनारलाई नियन्त्रित लागूऔषध डाईजेपाम २१ एम्पुल, नुफिन २० एम्पुल र फेनारगन १४ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-८ हर्दियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९५ एम्पुल, नुफिन ९८ एम्पुल र फेनारगन ९९ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-९ बस्ने २१ वर्षीय अशोक खड्का र दोलखा शैलुङ गाउँपालिका-३ घ्याङसुकाठोकर बस्ने ३१ वर्षीय सम्राट कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ५७१४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, मिर्चैया नगरपालिका-५ थाना चौकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-१० रतनपुर टोल बस्ने २६ वर्षीय रविन्द्र यादव र सोही नगरपालिका-४ मिर्चैया बजार बस्ने २० वर्षीय अनिस कुमार साह रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक पोईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम सहित दैलेख नौमुले गाउँपालिका-२ बबर सैनी बस्ने २५ वर्षीय रमेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई मलद्वारभित्र लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजन्तिचौकबाट अवैध लागूऔषध गाँजा २ केजी सहित भारत बिहार राज्य घर बताउने ५५ वर्षीय बालक दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.