अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, १२ माघ

महोत्तरी, बर्दिवास नगरपालिका-८ हात्तीलेटस्थित मिलचोक टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम  ७ सय २० ग्राम, ढक तराजु र नगद ९० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीय कालु थापा सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ तत्लो देउरालीबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय अम्बर लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीलाई देखि भाग्ने क्रममा प्रदेश-१ ०२-०४९ प ७१४० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक लिम्बुको धरान घोपामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका थिए । प्रहरीले उक्त स्कुटर तलासी गर्दा डिक्कीमा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७ शितलपथ बस्ने सोही महानगरपालिका-२० घर भएका २२ वर्षीय सुजन गुरुङलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनारगन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुलसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको संयुक्त टोलीले गुरुङको घर कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.