अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ        

   

काठमाडौं, १८ वैशाख

            मकवानपुर, थाहा नगरपालिका-७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्र बहादुर थिङलाई अवैध लागूऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भिम बहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका-१ दमक फन पार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित कमल गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-९ प्रणामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम, मोवाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रकाश रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.