अवैध लागूऔषधसहित ६ जना पक्राउ  

काठमाडौं, २८ असार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३९ ट्याब्लेटसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कोल्बी नगरपालिका-७ बस्ने १९ वर्षीय सलमान अन्सरी र सोही ठाउँ बस्ने १९ वर्षीय तबरेज अन्सरी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उदयपुर गाइघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-००१ ख २५८० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ नैकापबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय आत्माराम तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय गोविन्द तामाङ रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित दुवै जनालाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ टङ्पसरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ गोसाई पुरुवा बस्ने ३८ वर्षीय राम शाह गिरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ३ एम्पुल, एभिल ३  एम्पुल, डाईजेपाम ३ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेटसहित झापा दमक नगरपालिका-५ बस्ने ३० वर्षीय रण बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।