अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, २१ असोज

            काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ मिलिग्रामसहित पर्सा पोखरिया नगरपालिका-९ बस्ने २६ वर्षीय राजकिशोर ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय प्रदिप यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१४ यादव टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ६० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-८ बस्ने २५ वर्षीय बिबेक राय र सोही ठाउँ बस्ने २२ वर्षीय सुरज राय रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई बोरामा गाँजा बोकी नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।