अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १८ भदौ

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम सहित काभ्रे पाँचखाल नगरपालिका-२ देवीथान बस्ने २९ वर्षीय ज्ञान बहादुर तामाङ लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३४७० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास ओरालोबाट नियन्त्रित लागूऔषध २८ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र ४३ एम्पुल फेनारगन सहित दोलखा सैलुङ गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास बस्ने २७ वर्षीय बादल श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले प्र.३-०१-०२४ च ७८७८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी चालक बादललाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ११ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय सुमन प्रजा समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  र १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५९३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ शान्तिनगर टोलबाट ५ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका ३५ वर्षीय सलिम हलुवाई र उनकै श्रीमती २७ वर्षीया साहिवा हलुवाई रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोलबाट ५ ग्राम १ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिन पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने २३ वर्षीय रबिन बोहरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

            मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० राप्तीपुल नजिकबाट ७४ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा  र नगद ३१ हजार ७ सय रुपैयाँ सहित नुवाकोट विदुर नगरपालिका-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १९४२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी गाडी चालक प्रकाश समेत २ जनालाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट ४९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित  भारत घर भएका १९ वर्षीय सोनु कुमार महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.