काठमाडौं, ११ भदौ
काठमाडौं महानगरपालिका-६ कपन साततले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम सहित झापा बाह्रदशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ५० वर्षीय देवी प्रसाद शिवाकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा देवी प्रसादलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१४ मुन्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६१ मिलिग्राम र डिजिटल तराजु सहित सुनसरी रामधुनी नगरपालिका-८ बस्ने २७ वर्षीया सरस्वती गुरूङ लगायत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सरस्वतीको कोठामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ प्रेमनगरबाट अवैध लागूऔषध खैरोहेरोईन २ ग्राम ७८ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१ पुष्पलालचोक बस्ने ३२ वर्षीय हरीश खड्का र २७ वर्षीय बिबेक बराललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.३ प ५६६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।