अरुण तेस्रोको सुरुङ ‘ब्रेक थ्रु’ गर्ने

संखुवासभा जाँदै प्रधानमन्त्री

काठमाडाैं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संखुवासभा जाँदैछन् ।
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ७० प्रतिशत बढी काम सकिएको छ । आज प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । अरुण तेस्रोको ब्रेक थ्रु गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने निश्चित भइसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी ९(एसजेबिएन)ले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु-५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका-३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो ।
फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ । सो सुरुङ छिचोलिएकाले ब्रेक थ्रु गरिने भएको हो । प्रधानमन्त्री प्रचण्ड आज बिहान १० बजे आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टरमार्फत पावरहाउस स्थल चिचिला गाउँपालिकाको पुखुवाको कार्यक्रममा सहभागी हुने कार्यक्रमम रहेको छ ।
परियोजनामा कुनै अवरोध नभएमा अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर बितरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।

विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतिय सहित झन्डै चार हजार कामदार कार्यरत छन् ।