आरती शाह मृत्यु प्रकरण: न्याय माग्दै जनकपुरको सरकारी वकिल कार्यालय अगाडि प्रदर्शन

जनकपुरधाम । आरती शाह हत्या दाइजोको निहुँमा भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी माइत पक्षको छ ।

२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप उनका बुवा विनोद प्रसाद साहले लगाउँदै प्रहरीमा किटानी जाहेरी समेत दिए । तर प्रहरीले जाहेरी दर्ता नगरेपछि न्याय माग्दै आरतीका आफन्त र स्थानीय आज प्रदर्शन गरेका छन् ।

‘आरती साहलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेर उनीहरू सरकारी वकिल कार्यालय अगाडी प्रदर्शन गरे । आरतीको हत्याको बिहानपल्ट पनि उनीहरू सडक जाम गरेर आन्दोलन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरूले आरतीको हत्या भए पनि आत्महत्यामा परिणत गरी अपराधीलाई उम्काउने खेल भइरहेको आरोप लगाएका छन् ।

दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका–३ का मोतीबाबु साहसँग भएको थियो ।

आरतीका बुवा विनोदका अनुसार छोरीको बिहेमा २५ लाख खर्च गरेको र त्यतिले पनि नपुगेको भन्दै पटक पटक यातना दिने गरेका थिए ।

Comments are closed.