काठमाडौं : फ्रान्सको आल्प्स पर्वतमा हिमपहिरो जाँदा चार जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दक्षिण–पूर्वी फ्रान्सको मोन्ट ब्लांक नजिकैको आर्मान्सेट ग्लेसियरमा यो घटना भएको हो।
उक्त घटनामा दुई पर्वतारोही गाइडको मृत्यु भएको स्थानीय उपमेयरले पुष्टि गरेको बीबीसीले जनाएको छ। दुई जना अझै बेपत्ता रहेका र घाइते भएका थुप्रै व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ। पहाडको टुप्पोमा रहेको हिउँको एउटा खण्ड टुक्रिएर झर्दा हिमपहिरो गएको बताइएको छ।
हिमपहिरोमा परेका मानिसहरुसम्म पुग्न उद्धार टोली दिनभर खटिएको थियो। हिमपहिरोमा पर्नेहरु अधिकांश ब्याककन्ट्री स्किइंग गर्नेहरु रहेको अधिकारीहरुले बताएका छन्।
बेपत्ता भएका दुई जनाको सोमबार पनि खोजी जारी रहने बताइएको छ। अधिकारीहरुले उक्त क्षेत्रमा अर्को हिमपहिरो फेरि जान सक्ने सम्भावना रहेको जनाएका छन्। यसअघि सन् २०१४ मा यस्तै किसिमको हिमपहिरोमा परी दुई दाजुभाइको मृत्यु भएको थियो।