आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार वितरण

काठमाडौं । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको ‘रमेश विकल वाङ्मय पुरस्कार’ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । उक्त पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, २० हजार रुपैयाँ नगद राशिसहितको ‘रमेश विकल सुशीला समाजसेवी पुरस्कार’ लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गद गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ ।

‘रमेश विकल सृजना पुरस्कार’ समालोचक रमेश गोर्खालीलाई, ‘रमेश विकल बाल साहित्य पुरस्कार’ बाल साहित्कार लक्ष्मी उप्रेती तथा ‘रमेश विकल संघर्षशील नारी सम्मान’ धर्मशीला चापागाईंलाई प्रदान गरिएको छ ।

रमेश विकल कला—संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

२० हजार नगद राशिको ‘चन्द्रशेखर–रमेश विकल शोध सम्मान’ गोरखाका रमेश पोखरेललाई रमेश विकलका उपन्यासमा प्रतिनिधित्व, पहिचान र प्रतिरोध विषयमा दर्शनाचार्य (एमफिल) गरेबापत प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिएका छन् ।

Comments are closed.