सरस्वती पाध्येसहित २२ जनालाई नइ पुरस्कार समर्पण

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका २२ प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समर्पण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि महिलाहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सेवा, जागरण र स्वास्थ्य विकासमा निरन्तर समर्पित प्रसूति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिन् । ताम्रपत्र सहित प्रदान गरिएको उक्त पुरस्कारका साथ एक लाख रुपैयाँ नगद राशि प्रदान गरियो

कार्यक्रमकी मूख्य व्यक्तित्व डा. पाध्येले नेपाली वाङ्मयको श्रीवृद्धि, नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने भारतीय नेपाली साहित्यकार नव सापकोटालाई दुई लाख रूपैयाँ राशिसहितको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिन् ।

पुरस्कार समर्पण समारोहमा प्रा.डा. पाध्येले देशविदेशका नौ व्यक्तित्वलाई ताम्रपत्र र जनही एक लाख रूपैयाँ राशिसहितको नइ पुरस्कार समर्पण गरिन् । डा. पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, कुटनीतिज्ञ एवम् चिन्तक डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा.जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, खेलकुदका क्षेत्रमा योगदानका लागि मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, अग्रज पत्रकार हरिहर बिरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको क्षेत्रमा योगदान दिने स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिन् ।