समीपको ‘अक्षर अक्षरमा देश‘ लेखक कृति पुरस्कार–२०७८ पुरस्कृत

पोखरा, पुस १८ र नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०७८’ साहित्यकार दीपक समीपद्वारा लिखित मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ कृतिलाई प्रदान गरिने भएको छ । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले २०७८ सालमा गण्डकी प्रदेशभित्रका लेखकहरूबाट प्रकाशित कृतिहरूमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको हो । नेपाली लेखक सङ्घ कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सहसचिव प्राञ्जलले जानकारी दिए ।
चालीसको दशकको उत्तरार्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो । यसअगाडि उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह २०६२ सालमा प्रकाशित भएको थियो । उक्त कृतिले पनि सुदूर पश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गजल साधना सम्मान–२०६३ बाट पुरस्कृत भएको थियो । यसबाहेक विभिन्न पत्रपत्रिकामा उनका रचनाहरू पचासको दशकबाटै निरन्तर प्रकाशित हुँदै आइरहेका छन् ।
विशेषगरी गीत, गजल, मुक्तक, कविता र आख्यान लेखनमा सक्रिय उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् । थुप्रै साहित्यिक एवम् सामाजिक संघसंस्थामा सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी पोखरेली साहित्यिक वृत्तमा अत्यन्तै सक्रिय छन् । साहित्य सिर्जना र साहित्यिक गतिविधि सञ्चालनमा उनको लोभलाग्दो सक्रियता रहँदै आएको छ ।
२०७८ सालमा प्रकाशित कृतिहरू सङ्कलन गरी कार्तिक २७ गते बसेको कार्यसमिति बैठकले उत्कृष्ट ७ कृति छनोट गरी अन्तिम निर्णयका लागि पुरस्कार छनोट समितिसमक्ष सिफारिस गरेको थियो । साथै पुरस्कार छनोट समितिले कृतिहरूको विस्तृत अध्ययन गरी मङ्सिर २९ गते बसेको बैठकबाट समीपको कृतिलाई पुरस्कारका लागि छनोट गर्ने निर्णय गरिएको थियो । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिका सदस्यहरूमा डा. भूमिराज बस्ताकोटी, ईशा शाह, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ रहेका थिए ।
गणेश शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले २०७५ सालमा स्थापना गरेको सो पुरस्कारको राशि रु। २५००० रहेको छ । यस पुरस्कारबाट हालसम्म सरोज अर्यालद्वारा लिखित उपन्यास ‘दिव्याञ्जलि’ ९२०७५० र डा. मतिप्रसाद ढकालद्वारा लिखित कृति ‘महाभारतमा के छ ?’ ९२०७७० पुरस्कृत भइसकेका छन् । २०७६ सालको पुरस्कार भने कोभिड–१९ का कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए । आगामी माघ महिनामा आयोजना गरिने एक विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।

 

Comments are closed.