डा.रुईत र डा.पुनलाई वसुन्धरा-मानश्री पुरस्कार

काठमाडौं: वसुन्धरा—मान प्रज्ञा प्रतिष्ठानले नेत्र विशषेज्ञ  डा. सन्दुक रुईतलाई र वैज्ञानिक डा. महावीर पुनलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरे वापत वरिष्ठ चिकित्सक  डा.रुईतलाई विसं २०८० सालको ‘वसुन्धराश्री पुरस्कार’ र राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नु हुने वरिष्ठ वैज्ञानिक श्री डा.महावीर पुनलाई विसं२०८० सालको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको  बैठकले उक्त निर्णय गरेको सदस्य सचिव कृसु क्षेत्री द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०११ भाद्र १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मिएका  डा सन्दुक रुईतले तीलगंगा आँखा अस्पताल एवं सयौँ शिविरको संचालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकहरूको आँखा उपचार गरी मानवताको सेवा गरेका छन् ।  रुईत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषण लगायत दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नांगीमा जन्मनु भएका  डा. महावीर पुनले नेपालमा शिक्षा, संचार प्रविधि र विज्ञानको विकासमा पुर्याएको  अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौं सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन्।

यसअघि वसुन्धराश्री पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरे (विसं २०५७),  उपन्यासकार .दौलतविक्रम विष्ट (विसं  २०५८), कथाकार तथा नाटककार  गोविन्दबहादुर मल्ल ‘गोठाले’ (विसं  २०५९)  समालोचक यदुनाथ खनाल (विसं  २०६०),आख्यानकार मदनमणि दीक्षित (विसं  २०६१),  उपन्यासकार  डायमनशमशेर राणा (विसं  २०६२), साहित्यकार इन्द्रबहादुर राई (विसं  २०६३), कवि मोहन कोइराला (विसं  २०६४),  संस्कृतिविद् सत्यमोहन जोशी (विसं  २०६५),  समालोचक कृष्णचन्द्रसिंह प्रधान (विसं २०६६),  कवि  वैरागी काइँला (विसं  २०६७),  कवि धर्मराज थापा (विसं  २०६८),  समालोचक प्राडा वासुदेव त्रिपाठी (विसं ०६९),  चित्रकार शशी शाह (विसं  २०७०),  कलाकार  हरिप्रसाद रिमाल (विसं  २०७१, वरिष्ठ संगीतकार श्री अम्वर गुरुङ्ग (विसं  २०७२),  आख्यानकार श्री लीलबहादुर क्षेत्री(विसं  २०७३),  समालोचक प्राडा तारानाथ शर्मा (विसं  २०७४)  गायक  प्रेमध्वज प्रधान (विसं  २०७५),  कलाकार  मदनकृष्ण श्रेष्ठ  (विसं२०७६),  आख्यानकार डा.ध्रुवचन्द्र गौतम (विसं  २०७७),  लोकगायक श्री कुमार बस्नेत (विसं  २०७८) र  साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (विसं  २०७९) ले प्राप्त गरेका छन् ।

 

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कार कवि तथा गीतकार  दिनेश अधिकारी (विसं २०५७) साहित्यकार  विनय रावल (विसं  २०५८), नाटककार  अशेष मल्ल (विसं  २०५९), गजलकार  ज्ञानुवाकर पौडेल (विसं २०६०), साहित्यकार  मञ्जुल (विसं  २०६१), कथाकार  मधुवन पौडेल (विसं  २०६२), कवि  विष्णुविभु घिमिरे (विसं २०६३), कवि  कृष्णभूषण बल (विसं  २०६४), कथाकार भुवन ढुंगाना (विसं २०६५०, कथाकार  सनत रेग्मी (विसं २०६६), कवि विजय बजिमय (विसं  २०६७), समालोचक डा.रामदयाल राकेश (विसं २०६८), कथाकार डा.वेञ्जु शर्मा (विसं  २०६९), चित्रकार  किरण मानन्धर (विसं २०७०), कलाकार  नीर शाह (विसं २०७१), गायक  दीप श्रेष्ठ (विसं  २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (विसं २०७३), साहित्यकार तथा सञ्चारकर्मी  खगेन्द्र नेपाली (विसं २०७४) गायक  भक्तराज आचार्य (विसं  २०७५), कलाकार  हरिवंश आचार्य ( (विसं  २०७६), साहित्यकार सरुभक्त (विसं २०७७), गायिका श्रीमती मीरा राणा (विसं  २०७८) र कलाकार थानबहादुर रावल (विसं  २०७९) लाई प्रदान गरिएको छ ।