Trending Now

बेलायती राजाबाट नेपाली व्यवसायी महन्त श्रेष्ठलाई (ओबीई) पदवि

लन्डन — बेलायतस्थित एक जना नेपाली समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठले राजा चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटीस एम्पायर (ओबीई) पदवि पाएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवि अन्तर्गत श्रेष्ठले ओबीई पाएका हुन् । आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक दिइने छ ।

कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवि दिइन्छ ।यस वर्ष करिब ११ सय जनाले यस्तो पदवि पाएको राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ । ओबीई पदक यसअघि डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाइसकेका छन् ।

‘मलाई करिब तीन साताअघि क्याबिनेटबाट खबर आएको थियो । मेरो निस्वार्थ सेवा मूल्यांकन गरेर बेलायती राजाको बाहुलीबाट यस्तो उच्च पदवि पाउनु मेरो जीवनकै उच्च उपलब्धि ठानेको छु’, श्रेष्ठले कान्तिपुरसित भने ।

श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) पनि हुन् । सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् ।

Comments are closed.