नियात्राकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान

नियात्राकार युवराज नयाँघरे दीपा जनमत सम्मान प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई सो सम्मान अर्पण गरेको हो ।

जनमत मासिकको विशेष कार्यकक्षमा अयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले नयाँघरेलाई सो सम्मान प्रदान गरेका हुन् । नगद राशि, सम्मानपत्र, दोसल्ला, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित मानक ग्रन्थहरू उपहारका रूपमा प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मान अर्पण गर्दै प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक गति र योगदानबारे चर्चा गरेका थिए । उनले भने– “ओझेल परेको निबन्ध विधालाई  विशेष उचाइ दिनमा नयाँघरेको योगदान उल्लेखनीय छ ।”

कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठलगायतले नेपाली साहित्य, सम्मानित स्रष्टाका बारेमा आआफ्नो मन्तव्य राखेका थिए ।

सम्मानित स्रष्टा नयाँघरेले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गरेर जनमत वाङ्मय प्रतिष्ठानले सराहनीय काम गरेका धारणा राखे । उनले भने– “गुटभन्दा माथि उठेर यो प्रतिष्ठानले ज्यादै रचनात्मक कार्यलाई आफ्नो लक्ष्य राखेको छ, यसले नेपाली साहित्यको गुणात्मक पक्षलाई सघाउ पुग्नेको छ ।” खासगरी यात्रा साहित्यमा विशेष कलम चलाउने नयाँघरे मदन पुरस्कारलगायत पुरस्कारबाट पुरस्कृत भइसकेका स्रष्टा हुन् । उनका संवेदनाका स्वरहरू, मुहूर्तको वरिपरि, मुखुण्डाको मन, काठमाडौँलाई कोर्रा, नीलडाम, अनाम पहाडमा फनफनी, एक हातको ताली, घामको चुम्बन,  स्वाहा, हरियो राहदानी लगायत निबन्ध सङ्ग्रह प्रकाशित छन् ।