प्रहेलिका’ उपन्यासले जित्यो हिमटीका आख्यान पुरस्कार

साहित्य परिषद् भूटानले सन् २०१८ मा लामिटारे परिवारद्वारा स्थापित हिमटीका आख्यान पुरस्कार प्राप्त गर्ने कृतिको घोषणा गरेको छ । युवा स्रष्टा जेएन् दाहालको उपन्यास ‘प्रहेलिका’लाई आधुनिक समाजका अन्तर-सङ्घर्षहरूको गहन चित्रण गरेको भन्दै यस पुरस्कारका लागि छनौट गरिएको छ ।

हिमटीका आख्यान पुरस्कार हरेक तीन वर्षमा भूटानी लेखकहरू वा भूटानी मूलका लेखकहरूद्वारा लेखिएका उत्कृष्ट कृतिहरूलाई प्रदान गरिन्छ । यस वर्षको छनौट समितिले २०२४ सम्म प्रकाशित कृतिहरूको समीक्षा गर्दै ‘प्रहेलिका’लाई अन्तरजातीय प्रेम, यौन आकर्षणका जटिलता, र पुनर्वासका मानसिक प्रभावहरूको अन्तर्दृष्टि प्रदान गरेकोमा प्रशंसा गरेको छ ।

“पुनर्वासपछि युवाहरूमा उर्लिएको असीमित अपेक्षा, अन्तरजातीय प्रेम र यौनप्रति बढ्दो आकर्षणले निम्त्याएका कुण्ठा तथा अन्तर्घातजस्ता समसामयिक सन्दर्भ र प्रवृत्तिहरूलाई समेटेर लेखिएको प्रहेलिका उपन्यासले समाजको मनोविज्ञानलाई राम्रो गरी प्रस्तुत गरेको छ,” परिषद्का सचिव खेम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

उक्त पुरस्कार अगस्ट १७, २०२४ मा क्यानडाको विन्डसोरमा हुने परिषद्को सम्मेलनमा दाहाललाई औपचारिक रूपमा प्रदान गरिनेछ। समारोहमा उनका योगदानहरूलाई प्रमाणपत्र र नगद पुरस्कारका माध्यमबाट सम्मान गरिनेछ ।

साहित्य परिषद् भूटानले थप केही पुरस्कारहरू पनि स्थापना गरेको छ जसले साहित्यिक प्रतिभा र सांस्कृतिक विरासतलाई प्रोत्साहन दिन्छ:

हिमतारा प्रतिभा सम्मान पुरस्कार हरेक दुई वर्षमा उत्कृष्ट कविता कृतिहरूलाई दिइन्छ ।
सुराक सङ्गीत सिर्जना पुरस्कार हरेक दुई वर्षमा सङ्गीत र गीत सिर्जनाका उत्कृष्ट कृतिहरूलाई मनाउँछ ।
मुना स्मृति कथा पुरस्कार हरेक पाँच वर्षमा छोटो आख्यानका उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गर्दछ ।
यी पुरस्कारहरू भूटानी साहित्यलाई समृद्ध बनाउने र स्रष्टाहरूलाई सहयोग पुर्‍याउने परिषद्को प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

आफ्नो देशबाट उच्छेदित भई नेपालमा शरणागत अवस्थामा रहेको बेला नेपाली भाषा र साहित्यको विकाश र विस्तारका निम्ति सन् १९९३ मा भूटानीहरूले स्थापना गरेको संस्था हो साहित्य परिषद्, भूटान । हाल यो संस्था अमेरिकाको ओहायो राज्यमा गैर-मुनाफामुखी सामाजिक संस्थाको रूपमा दर्ता भई भाषा-साहित्यको सेवामा प्रतिबद्ध छ ।