प्रा. डा. माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार प्रदान गरिने

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्रा. डा. माधव पोखरेललाई नगद रु. पचास हजार राशी सहितको शंकर लामिछाने निबन्ध पुरस्कार २०७९, प्रदानगर्ने निर्णय गरेको छ ।

यसैगरी प्रतिष्ठानले निबन्ध नियात्राकार ज्ञानेन्द्र विवशलाई नगद रु. पच्चीस हजार राशी सहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार २०७९ प्रदान गर्ने पनि निर्णय गरेको छ । सो निर्णय प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्य समितिले गरेको हो । पुरस्कार सिफारिस समितिमा साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन र युवराज नयाँघरे रहनु भएको थियो ।

साहित्यकार पोखरेलका निबन्ध कृतिहरु मेरो मान्छे २०५४, ध्वनि विज्ञान र नेपालीभाषाको ध्वनि परिचय २०५७ नागदहको थिति २०५९ गार्गीको गाँठो २०६२ लगायत विभिन्न कृतिहरु प्रकाशित रहेका छन् । यसैगरी निबन्ध नियात्राकार विवशका ज्ञानेन्द्र विवशका ‘क्यानभासका तरङ्गहरू’ ‘वि.सं. २०५५, ‘राराकी अप्सरा’ वि.सं. २०५८, ‘मृत्यु उत्सव’ वि.सं. २०६०, ‘आकृतिको आवाज’ वि.सं २०६१, ‘प्रणय र पाइला’ वि.सं २०६१, ‘अन्नपूर्णका विम्बहरू’ वि.सं. २०७०, ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ वि. सं २०७०, ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ वि. सं. २०७०, ‘सुन्दरीचोक’ वि. सं. २०७५, ‘साँखुका सम्पदा र वास्तुकला’ वि. सं. २०७५, ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ वि. सं. २०७६, ‘प्रतिनिधि नेपाली कलाकार’ वि. सं. २०७८, ‘कलाकार सिद्धिमुनि शाक्यः जीवन र कला’ वि. सं. २०७८, ‘संवेदनाका स्वरहरु’ संयुक्त निबन्ध सङ्ग्रह २०५४ कृतिहरु प्रकाशित रहेका छन् ।

यसअघि शंकर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकारहरु कृष्णचन्द्र सिंह प्रधान, प्रा. डा. दुर्गाप्रसाद भण्डारी, डा. ताना शर्मा, श्यामप्रसाद शर्मा, प्रा. बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार र गणेश रसिक सम्मानित भइसक्नु भएको छ । यसैगरी ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ बाट निबन्धकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरस्कृत भइसक्नुभएको छ ।