प्रकट पगेनी शिवलाई गीतकार सम्मान

पोखरा ।

‘गीतकार प्रतिष्ठान नेपाल’ले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिकको साधारण सभाका अवसरमा गीतकार प्रकट पगेनी ‘शिवलाई गीतकार सम्मान (२०७९ बाट सम्मानित गरेका छ । ५ हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पगेनीलाई प्रदान गरे ।

सम्मान ग्रहण गरेपछि पगेनीले साहित्यका विभिन्न विधामा कलम चलाएपनि आफ्नो सर्वप्रिय विधा गीतनै भएको जनाए । सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा/जाँदा दोबाटोमा’नामक गीत सङ्ग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू(गजल सङ्ग्रह) र अक्षरभरि अक्षता(कवितासंग्रह)उनका प्रकाशित कृतिहरू हुन् । पगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरुभक्तले जुनसुकै विधामा कलम चलाएपनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । साहित्यका अन्य विधामा जस्तै गीत गरिने ‘प्रयोग’ स्वीकार्य हुनुपर्ने भन्दै उनले गीतको क्षेत्र व्यापक रहेको बताए । साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नुपर्ने अवस्था रहनु बिडम्बना रहेको धारणा राखे । गीतको जननी गीतकार नै भएको भन्दै कुनै गायक र गायिकाको नाम लिएर तिनकै गीत भनिने प्रचलन प्रति असन्तुष्टि राखे ।

प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुराग अधिकारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । कार्यक्रममा आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँका अध्यक्ष आकाश अधिकारी, कलाकार कृष्ण मर्सानी, मनु शर्मालगायतले शुभकामना दिएका थिए । सोही अवसरमा ३० जनालाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।