पहिचान पुरस्कार २०८० प्रगति राई र प्रकाश गुरागाईँलाई

भोजपुर । सर्वाधिक धन राशीको ‘पहिचान पुरस्कार २०८०’ बाट दुई जनालाई पुरस्कृत गरिएको छ ।

२०७२ सालबाट स्थापित पहिचान कोषद्वारा वितरण गरिने पहिचान पुरस्कारबाट प्रगति राईको ‘थाङ्ग्रा’र प्रकाश गुरागाईँको गैर आख्यान ‘जक्सन पिपलबोट’ लाई संयुक्तरुपमा पुरस्कृत गरिएको हो । नगद चार लाख दुई हजार दुई रुपैयाँ राशीको पुरस्कार जिल्लाको पश्चिम पर्यटकिय स्थल टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङमा वितरण गरिएको छ ।

कोषका संस्थापक नरेश काङमाङको अध्यक्षता तथा लेखक खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा बितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि साथै विशेष अतिथि प्राज्ञ श्रवण मुकारुङ, गाउँपालिका अध्यक्ष सरोज बस्नेत, प्राज्ञ मुनराज शेर्मा, चन्द्र रानहँछा, लेखक पत्रकार दिपक सापकोटा, लेखकहरु देवन किराती, कविता राईलगायतले पुरस्कृत कृती र लेखकबारे आफ्नो धारणा राख्नु भएको थियो ।

यस अघि खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ बाट नगद चार लाखसहित सम्मान गरिएको थियो । त्यस्तै राजन मुकारुङको निबन्ध ‘फेरिदो सौन्दर्य’,अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, उपन्यास ‘भुईयाँ’ लाई पहिचान पुरस्कारबाट सम्मान गरि सकिएको छ ।

त्यस्तै उन्मुक्त पुस्ताको अफर, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ श्याम शाहको उपन्यास ‘पथेर’ अनन्त वाग्लेको ‘कदम’,अर्जुन माबुहाङ र अमित थेवेद्वारा लिखित ‘फाल्गुनन्द र इमान सिंह चेम्जोङको लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई पनि पुरस्कृत गरि सकिएको पहिचान पुरस्कार कोषले जनाएको छ ।