काठमाडौँ, २२ चैत २०७७ । साहित्यकार रामप्रसाद पन्तलाई यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले आज बानेश्वरस्थित गुरुकुल नाटक घरमा आयोजित विशेष समारोहकाबीच पन्तलाई पुरस्कृत गरेको हो ।
कोषका सदस्यसचिव देविका तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उक्त पुरस्कार अर्पण गरेका हुन् । कार्यक्रमको अतिथिहरुमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।
पुरस्कार अर्पणपछि बोल्दै साहित्यिक पत्रकार शर्माले जनस्तरबाट रकम संकलन गरी आफ्नो नाममा पुरस्कार राखेर गुन लगाएको बताए । सम्मान र आदरको भोको नरहेको भन्दै अब यति धेरै सम्मान र आदर नगर्न पनि उनले आग्रह गरे ।
पुरस्कार ग्रहणपछि बोल्दै साहित्यिक पत्रकार पन्तले तिरस्कृत पुरस्कृत हुन नहुने र पुरस्कृत तिरस्कृत हुन नहुने बताए । आफूले प्राप्त गरेको सम्मान दायित्व प्रतिष्ठानबाटै प्राप्त भएकोले त्यही राख्ने र सकेसम्म सदुपयोग गर्ने उनले बताए ।
कार्यक्रममा पन्तद्वारा लिखित नियात्रा कृति सोनार बांग्ला र अभिव्यक्ति साहित्यिक पत्रिकाको विमोचनसमेत गरिएको थियो ।
विमोचित कृतिको बारेमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र पत्रिकाको बारेमा विधान आचार्यले समीक्षात्मक टिप्पणी गरेका थिए ।
यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागि र अतिथिहरुलाई साहित्यकार किशोर पहाडीले स्वागत गरेका थिए भने कोषका कोषाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कार्यक्रम सञ्चालन गरेका थिए ।
यो पुरस्कार दोस्रोपटक प्रदान गरिएको हो । अघिल्लो वर्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई यो पुरस्कार प्रदान गरिएको थियो । कोषमा ५ लाख रुपैयाँ जम्मा भएको र सोही रकमको ब्याजबाट पुरस्कार दिने गरिएको कोषका कोषाध्यक्ष शंकर भारतीले जानकारी दिए ।