Trending Now

स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान

नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान गरिएको छ । उहाँको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष कार्यक्रममा सो उपाधि दिइएको हो । अन्य संलग्न संस्थाहरूमा बालसाहित्य प्रतिष्ठान नेपाल, कथावाचक समाज, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, थियटर सेन्टर फर चिन्ड्रेन, सिविन–नेपाल, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, एभरेष्ट इङ्लिस स्कुल भक्तपुर, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुल काठमाडौं, जुगल स्कुल ललितपुर र किताब चरो रहेका थिए ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रमका अध्यक्ष प्रमोद प्रधान र अन्य संस्था र विद्यालयका प्रतिनिधिहरूले संयुक्त रूपमा सो उपाधि उल्लिखित अभिनन्दनपत्र श्री शान्तदासलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सिविन–नेपालका तर्फबाट श्री शान्तदासको बारेमा निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका बालबालिकाहरूले शान्तदासले लेख्नुभएको बालकविताको अभिनयका माध्यमबाट प्रदर्शन गरेका थिए । कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरे, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्य, थिएटर सेन्टर फर चिल्ड्रेनका अध्यक्ष केदार श्रेष्ठ, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका निर्देशक भोला श्रेष्ठ, एभरेष्ट इङ्लिस स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारी, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल मनोज श्रेष्ठ र किताब चरोका अध्यक्ष रामबाबु सुवेदीले शान्तदासको योगदानको चर्चा गर्नुभएको थियो।
सिविन–नेपालका कुमार भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुस्तकालयविज्ञ इन्दिरा दली र गङ्गादेवी कसजूले पनि बोल्नुभएको थियो ।

 

Comments are closed.