ध्रुवचन्द्र,अभि र श्यामलाललाई बुद्धि–रेशम स्रष्टा सम्मान अर्पण

काठमाडौँ । जलरिका साहित्य प्रतिष्ठानले काठमाडौँमा एक समारोहका बीच वि.सं. २०८० सालको ‘बुद्धि–रेशम स्रष्टा सम्मान’ समालोचना विधामा डा. अभि सुवेदीलाई, आख्यान विधामा डा. ध्रुवचन्द्र गौतमलाई र कला विधामा श्यामलाल प्रधानलाई अर्पण ग¥यो ।
समारोहका प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले त्रय स्रष्टालाई एक लाख राशिसहित सम्मान अर्पण गर्नुभएको थियो । त्यस क्रममा उहाँले त्रय स्रष्टा यस युगका स्वनामधन्य र महान् स्रष्टा भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘साहित्यकारहरूले नेपाली साहित्यसँगै भाषाको संरक्षणमा पनि लाग्नुपर्दछ । वर्तमान अवस्थामा नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यले गलत नजिरको स्थापना गरिरहेको छ । यस्ता कार्यले गर्दा इतिहास मर्दैै जान्छ ।’
सम्मानित स्रष्टा द्वय डा. ध्रुवचन्द्र गौतम र डा. अभि सुवेदीको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्दै समालोचक डा. गोविन्दराज भट्टराईले आज सम्मानित स्रष्टा युगकै प्रतिनिधित्व गर्ने स्रष्टा हुनुभएकाले यो सम्मान प्रत्येक स्रष्टाको सम्मान भएको बताउनुभयो ।
सम्मानित स्रष्टा श्यामलाल प्रधानको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्दै कलाकार मुकेश मल्लले कलाको इतिहासमा अलग्गै पन दिने कलाकारका रुपमा तथा मुख्य धारका कलाकारका रूपमा प्रधानलाई सम्झनुपर्ने बताउनुभयो।
समारोहमा सम्मानित स्रष्टा डा. ध्रुवचन्द्र गौतमले आफूले आफूलाई ठूलो लेखक नसम्झेर, ठूलो समर्पित लेखकका रूपमा मात्र सम्झेको बताउनुभयो । उहाँले १० वर्षको उमेरदेखि साहित्य सिर्जनाका लागेको र अहिले पनि निरन्तर सिर्जनारत रहेको पनि बताउनुभयो ।
अर्का सम्मानित स्रष्टा डा. अभि सुवेदीले आफ्नो लेखन तरल खोजी भएको र अभिव्यक्तिको माध्यमका नयाँ नयाँ रूपको खोजी गर्नु नै आफ्नो लेखन कर्म भएको बताउनुभयो । उहाँले समालोचनामा स्थिर मानकलाई मान्न छोडेको पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै अर्का सम्मानित स्रष्टा श्यामलाल प्रधानले सम्मानले स्रष्टालाई प्रेरणा दिने बताउनुभयो । उहाँले नयाँ पन दिएर एउटा प्रदर्शनी गर्ने योजना पनि सुनाउनुभयो ।
समारोहमा सम्मानित स्रष्टा ध्रुवचन्द्र गौतमद्वारा लिखित उपन्यास जडाउरीको विमोचन पनि गरिएको थियो ।

जलरिका साहित्य प्रतिष्ठाका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा प्रतिष्ठानका महासचिव साहित्यकार रोशन थापा ‘नीरव’ले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने सहजीकरण साहित्यकार मणि लोहनीले गर्नुभएको थियो ।

साहित्यसेवी दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको जलरिका साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष तीनवटा विधामा योगदान गर्ने स्रष्टालाई असार १ गते सम्मानित गर्ने गरेको छ । आयोजक संस्थाका संरक्षक कवि द्धारिका श्रेष्ठका बुवा–आमाको स्मृतिमा राखिएको सम्मानमा स्रष्टाहरूलाई जनही एक लाख नगदसहित सरस्वतीको प्रतिमा एक समारोहका बीच प्रदान गरिन्छ ।