काठमाडौ‘सद्भाव र सिर्जना’को मूलमन्त्र सहित राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदि काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानले पाल्पाका दुई स्रष्टालाई सम्मानित गर्ने भएको छ । पाल्पामा बसेर साहित्य साधना गरिरहेका पुष्कर अथक रेग्मी र स्रष्टा राजेन्द्रगोपाल सिंहलाई पुरस्कृत गर्ने भएको हो । प्रतिष्ठानले योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित रु.२५,०००।— राशिको योगेश्वर वाङ्मय पुरस्कार रेग्मीलाई र नेपालप्रेमी स्व. ग्रगोरी जी.मस्कारिनेकद्वारा स्थापित र २०,०००।— राशिको ग्रेगरी कला संस्कृति पुरस्कार सिंहलाई प्रदान गर्ने भएको हो ।
योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पुरस्कार संस्थापक समेत रहेका कवि राजेश्वर कार्कीको अध्यक्षतामा बसेको बैठकले सिंह र रेग्मीको साहित्यिक योगदानको सम्मान स्वरुप पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कार आगामी कार्तिक १९ गते पाल्पामा हुने सिर्जना उत्सवमय विशेष समारोहमा समर्पण गरिने कला साहित्य डट कम प्रतिष्ठान अध्यक्ष एवं साहित्यकार मोमिलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।