Trending Now

कविडाँडाबाट सम्पादक रिजाल सहित ४ जना पुरस्कृत

कविडाँडा साहित्य समाज चितवनले नेपाली साहित्यमा क्रियाशील विभिन्न स्रस्टालाई सम्मान गरेको छ । सम्मान प्राप्त गर्नेमा कायाकैरन दैनिक तथा कायाकैरन अनलाइनका सम्पादक विनोदबाबु रिजालसहित कवि मनु मञ्जिल, कथाकार सरस्वती रिजाल र कथाकार सीताराम कोइराला रहेका छन् । कविडाँडा साहित्य समाजको २१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा स्रस्टाहरूलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रामबाबु घिमिरेले सम्मानपत्र, दोसल्ला र नगदसहित स्रस्टालाई पुरस्कृत गरेका हुन् ।

सम्पादक रिजाललाई कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार- २०८० प्राप्त गरे । कायाकैरन दैनिक र कायाकैरन डटकमका सम्पादक रिजालको `एकान्तवास´ पुस्तक प्रकाशित छ । पुरस्कारको राशी १५ हजार १६० रुपैयाँ रहेको छ ।

त्यसैगरी कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार- २०८० कवि मनु मञ्जिललाई दिइएको छ । इटहरी निवासी मञ्जिल कविता लेखनमा सक्रिय छन् । उनका `आँधीको आवेग´ र `ल्याम्पपोस्टबाट खसेको जून´ कवितासङ्ग्रह प्रकाशित छन् । पुरस्कारको राशी ३० हजार १६० रुपैयाँ रहेको छ ।

कविडाँडा देवखीना स्मृति पुरस्कार- २०८० साहित्यकार सरस्वती रिजालले प्राप्त गरेकी छन् । कथा लेखनमा सक्रिय रिजालको `प्रसङ्ग भ्रम र पात्रहरू´ कथासङ्ग्रह, `एक झुल्को घाम´ र `प्रबोधन´ कवितासङ्ग्रहलगायतका कृति प्रकाशित छन् । त्यस्तै कविडाँडा अविनाशी कृति पुरस्कार- २०८० कथासङ्ग्रह `जेम्स बौलाएको दिन´का स्रस्टा सीताराम कोइरालाले प्राप्त गरेका छन् । कोइरालाका आधादर्जन कृति प्रकाशित छन् । रिजाल र कोइरालाले प्राप्त गरेको नगद राशी पनि जनही १५ हजार १६० रुपैयाँ रहेको छ ।

कार्यक्रममा पुरस्कृत स्रस्टाका बारेमा लेखराम सापकोटा, सुरेन्द्र अस्तफल, शान्ति शर्मा र नवराज ढुंगानाले बोलेका थिए । कार्यक्रममा कवि मनु मन्जिलले `एक योद्धा आफ्ना नानीहरूसित´ र `पहराको साँघुरो बाटोमा´ गरी २ वटा कविता सुनाएका थिए । कविडाँडाका कार्यवाहक अध्यक्ष उदय अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

Comments are closed.