बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।

चैत्र ४ गते पूर्वको प्रसिद्ध नगर धरानमा एक भव्य समारोहको आयोजना गरी काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताए । प्रतिभा प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैरागी काइँलाको जन्म विसं १९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्ररत्नका रूपमा भएको थियो । दार्जिलिङबाट स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका वैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध छन् ।

उनले दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गरेका थिए । विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गरेका काइँलाका कविता–काव्य विधातर्फ ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।

यसै गरी उनका लिम्बू भाषा र नेपाली भाषामा क्रमशः ‘साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुमः प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुमः ईष्र्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम: मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुमः आख्यान र अनुष्ठान’, ‘चइःत् मुन्धुमः सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ लगायत कृति प्रकाशित छन् । ‘लिम्बू व्याकरणः याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःनः लिम्बू व्याकरण’को सहलेखन गर्नुभएका वैरागी काइँलाले आफ्ना बाबा सुब्बा खड्गबहादुरले लेखेको ‘किरात मिक्हन साम्लोः किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद समेत गरेका छन् । यसै गरी काइँलाले ‘फूल पात पतकर’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’लगायतको सम्पादन समेत गरेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सोही समारोहमा विशिष्ट सङ्गीत–साधक एवम् गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई पनि प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ ।

Comments are closed.