बीपी र मदनको नाममा बजेट नदिएपछि एमाले-कांग्रेसले बैठक छोडेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको आरोप लगाएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस र एमालेले चार शहीदको नाममा कार्यक्रम गर्न नमानेको आरोप लगाएका हुन् ।आफूले स्वतन्त्र सेनानीहरू, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा करोडौंको कार्यक्रम गरौं भने पनि कांग्रेस र एमालेले नमानेको मेयर बालेनले बताए ।
मेयर बालेनले लेखेका छन्, ‘एमाले कांग्रेसले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें । सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’
काठमाडौं महानगरपालिकामा बालेन स्वतन्त्रबाट मेयर जिते पनि उपमेयरसहित वडाध्यक्षहरू कांग्रेसबाट एमालेबाट जितेका छन् ।
यसैले पटकपटक नगर सभाको बैठक प्रभावित हुँदै आएको छ । कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको मेयर बालेनले बताए ।