काठमाण्डौं । बंगलादेशले १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ।
भारतको बैङ्गलोरस्थित श्री कांतिराव स्टेडियममा आईतबार भएको खेलमा माल्दिभ्सलाई ३-१ गोलले पराजित गर्दै बंगलादेशले पहिलो जित हासिल गरेको हो ।
हाम्जा मोहमदले खेलको १७ औं मिनटमा गोल गरेपछि माल्दिभ्सले शुरुवाती अग्रता लिएको थियो ।
तर माल्दिभ्सले उक्त अग्रतालाई खेलमा निरन्तरता दिन सकेन ।
४२ औं मिनटमा बंगलादेशका राकिब होसेनले गोल गरेपछि पहिलो हाफको खेल १-१ को बराबरीमा रोकिएको थियो ।
खेलको ६७ औं मिनटमा तारिक काजीले गोल गर्दा बंगलादेश २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनटमा शेख मोर्सलिनले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाए ।
पहिलो जितसँगै दुई खेलबाट ३ अंक जोडेको बंगलादेश समूह बी को दोश्रो स्थानमा रहेको छ ।
यसअघि पहिलो खेलमा बंगलादेश लेबनानसँग पराजित भएको थियो ।
यता माल्दिभ्स २ खेलमा ३ अंकसहित तेश्रो स्थानमा रहेको छ ।