बारबारा फाउण्डेशनद्वारा खोजमूलक पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । बारबरा फाउण्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ ।फाउण्डेशनका अनुसार, पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिति बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको हो ।
हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैंयाको रहने र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैंया राशिका पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारमा जोडिएको मुद्धाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमैं परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ ।
यसपटक वैशाख २०७९ देखि चैत २०८० सम्म (२४ महिना)मा प्रकाशन/प्रशारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिष्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा यो पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ ।
यस्ता सामग्रीबारेको आवेदन जोजसले दिए पनि(प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुनेछ । तर, आवेदकको परिचय स्पष्ट रुपमा खुलाउनु पर्नेछ । यो आवेदन २०८० चैत मसान्तभित्रमा आइसक्नुपर्नेछ ।फाउण्डेसनले यो पुरस्कारका अतिरिक्त भदौ महिनामा जनही अढाइ लाख रुपैंयाका दरमा ४ वटा (कुल १० लाख रुपैंया)को भिन्न चार बिषय अन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गरेको थियो ।उक्त पत्रकारिता फेलोसिप पाउनेहरुको नाम बैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा सावजनिक गर्ने फाउण्डेसनले जनाएको छ ।