दक्षिण एसियाली चलचित्र महोत्सवमा ‘सतीदेवी’लाई सर्वोत्कृष्ट उपाधि

चितवन — चलचित्र ‘सतीदेवी’ले सौराहामा सम्पन्न दक्षिण एसियाली चलचित्र महोत्सव -०८० को सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सञ्चालित महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो ।
उपाधिसँगै ‘सतीदेवी’ले नगद ५० हजार रूपैयाँ पुरस्कार पाएको छ । यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जिते ।

महोत्सवमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए । महोत्सवमा उत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गरेको छ । वृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ ।
त्यस्तै, उत्कृष्ट लघु चलचिको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उत्कृष्ट सम्पादक ‘नांगो गाउँ’का बनिशा शाहले जिते ।
सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन् भने यसै चलचित्रबाट उत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन् । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गर्‍यो ।महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको थियो ।