शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

 

काठमाडौँ —संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको यो सम्मानसँगै उनी दुईलाई ५० हजार १ रुपैयाँ नगद उपहार प्रदान गरिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मानसँगै यो वर्षदेखि नयाँ सम्मान पनि थपिएको छ ।

भक्तराज पत्निको नामबाट सुरु गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवादक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो । कला क्षेत्रमा उक्त वर्ष अस्वस्थ हुने कलाकारलाई सहयोग गर्ने उदेश्यले उक्त सम्मान सुरु गरिएको सत्यराज आचार्यले बताए ।

रुपेशलाई पछिल्लो समय लिभरको समस्याले आइसियुमै राख्नु परेको थियो । हामीले यो सम्मान त्यस्ता कलाकारका लागि सुरु गरेका हौं । कलाकारहरुले आर्थिक अभावले सहयोगका लागि याचना गर्नु नपरोस् भन्ने सोचेर हामीले आमाको नामबाट यो सुरु गर्‍यौं,’सत्यराजले भने ।

सम्मान थापेसँगै शुभबहादुरले कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’माथि सेक्सोफोन बजाएका थिए । भक्तराजकै गीतमाथि सेक्सोफोन बज्दा कार्यक्रममा उपस्थित अधिकांशको आँखा रसाएको थियो । त्यससँगै तीर्थकी छोरा गायक सुरज थापाले कार्यक्रममा गीतार बजाउँदै आमाको गीत ‘म त खाँदिन कुवाको पानी’माथि प्रस्तुति दिए । विपिन सागर घिमिरे भने भक्तराजकै ‘मुटु जलिरहेछ’बोलको गीत गाएका थिए । सम्मान कार्यक्रमलाई सिटी एक्सप्रेसले प्रायोजन गरेको थियो ।