बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन्।
वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे भए। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए।
उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाएका छन्।
वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकोमा झन्डै सयभन्दा बढी टाँका लगाइएको थियो। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएको थियो। अनि उनको जिब्रो काटियो। त्यसयता उनको गायनयात्रामा विराम लागेको थियो।
उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै कालजयी गीत छन्।
त्यस्तै उनका ‘एकदिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन बचनले’, ‘सब निदाए प्रभु’ लगायत थुप्रै लोकप्रिय भजन छन्।
उनको जीवनी फिनिक्स बुक्सले बजारमा ल्याउने तयारी गरिरहेको छ। भक्तराजका जेठा छोरा सत्यराज आचार्यले पुस्तक लेखनका लागि सहयोग गर्ने भएका थिए।
उनको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनेको छ। नेपाली सुगम संगीतलाई उचाइमा पुर्याउन उनले ठूलो योगदान दिएका छन्।
गायक भक्तराज आचार्यले रेडियो नेपाललाई ठूलो योगदान दिएको दीप श्रेष्ठ बताउँछन्। रेडियो नेपालले दिएको डेटमा कोही नआए भक्तराज गायनका लागि तयार भइहाल्ने उनी बताउँछन्।
स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए। स्वर परीक्षा पास गरेका व्यक्तिले पनि रेकर्ड गर्न डेट लिनुपर्थ्यो। त्यस्तो बेलामा रेडियो नेपालमा कार्यरत भक्तराज आचार्यले समय कुरेर सयौँ गीत रेकर्ड गराएका थिए।