जेष्ठ १५, २०७९ दार्जिलिङ —कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भानुपाला नाट्य वेलफेयर एसोसिएसनले ‘नाटकवाला’ नामक दुईदिने नाट्य उत्सव गरेको थियो । यसै अवसरमा एसोसिएसनले नाट्य क्षेत्रका मिथ बनिसकेका मनबहादुर मुखियालाई पहिलो भानुपाला नाट्य रत्न पुरस्कार प्रदान गरेको हो । कालेबुङका विधायक रुदेन लेप्चाले मुखियालाई सल ओडाए, हातमा मायाको चिनो दिएर सम्मान प्रदान गर्दै उक्त पुरस्कार प्रदान गरेका थिए ।
दर्शकदीर्घामा ललित गोले, चुन्निलाल घिमिरे, देवराज शेर्पा, मोहन–पुकार, मेनुका प्रधान, कमला लेप्चा, जीवन गुरुङ, पी. अर्जुनलगायतका दार्जिलिङका जानेमाने नाट्यकर्मीहरू रहेका थिए ।
‘अनि देउराली रुन्छ मञ्चन गरेको अर्धशताब्दी पुग्यो । जुन माटोमा म नाटकवाला बनेको थिएँ, त्यही माटोमा उभिएर यो सम्मान ग्रहण गरिरहेको छु,’ मुखियाले भने, ‘यो मलाई दिएको पुरस्कार होइन; यो हामी सबै नाटकवालाहरूलाई दिएको सम्मान हो ।’
आफू काठमाडौं बसे पनि उनको मन दार्जिलिङकै चियाबगान, पहाड, कन्दरातिर डुलिरहने उनले बताए । ‘काठमाडौंले त नाटकलाई दर्शकको पहिलो छनोट बनाइसकेको छ,’ उनले सुनाए, ‘अब दार्जिलिङले पनि पुरानो गरिमा फर्काउन उस्तै मेहनत गर्नैपर्छ ।’
उत्सवमा सिलगढीका कलाकारहरू राजु शासङ्करको लेखन/निर्देशन रहेको ‘समय अनि बाध्यता’, पार्थो चौधुरीको लेखन/निर्देशन रहेको ‘आखरी इनाम’, रणजीत सिंहको लेखन÷निर्देशन रहेको ‘ममता’, अरुण प्रकाश राईको लेखन/निर्देशन रहेको ‘कुर्सी राजाको खेल’‚ अमजद प्रवेज र घिमिरे युवराजको लेखन÷निर्देशन रहेको ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन गरिएको थियो ।
यसै अवसरमा सिक्किम, कालेबुङ र काठमाडौंका नाट्यकर्मी मनबहादुर मुखिया, घिमिरे युवराज, चुन्निलाल घिमिरे, ललित गोले अनि अरुण प्रकाश राई ‘खै नाटक’ शीर्षकको बहसमा समेत भएका थिए ।