भरतपुर भ्रमण वर्ष: ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा

चितवन । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो ।
भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहेको छ।
यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ ।
विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ ।
माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको सापकोटाले जानकारी दिए । नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ ।
चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उनले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए । यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ ।
भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उनको भनाइ छ ।