चलचित्रकर्मीको हित विपरीत काम गरे भुवन केसीलाई अध्यक्षबाटै विस्थापित गर्छौ: निर शाह

काठमाडौँ । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रूपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमवार चलचित्र निर्माता संघको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए ।

उनले अहिले ड्राफ्ट भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनः विचार गर्न आग्रह गरे । उनले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भूमिका छ रु भन्दै प्रश्न गरे ।

उनले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताए । उनले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरमेबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रूपमा अपग्रेड गर्न आग्रह गरे ।

उनले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताए । प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताए ।

चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको बताए । उनले चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने ‘राम्रा सिनेमाको अपेक्षा अझै गर्न सकिन्छ । उहाँहरूले जुन सिनेमा बनाउनु भयो, जसको कारणले गर्दा आजको दिनसम्म यो सिनेमा उद्योग चलायमान छ, त्यसो हुनुको पछाडि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भूमिका के छ रु चलचित्र विकास बोर्डको भूमिका के छ रु मन्त्रालय र चलचित्र विकास बोर्ड नभएको भए १० वटा राम्रो सिनेमा बन्दैन थिए त रु बन्थ्यो । उहाँहरूले त्यसैले गर्व गरिरहनुभएको छ । त्यो राम्रो वातावरणलाई धमिल्याउने काम उहाँहरूबाट भएको छ । जुन इकाई भएका कारणले नेपाली चलचित्र उद्योगको विकासमा सघाउ पुग्छ रु भनेर हिन्दी सिनेमा देखाएर त्यसबाट उठेको कर खुवाएर सञ्चार मन्त्रालयको उपसचिवलाई त्यही पैसाबाट गाडी चढाएर तलब सुविधा भत्ता खुवाएर हामीले जुन एउटा सेतो घर खडा गरेको छौँ । त्योसँग सम्बन्ध राखेर बन्न लागेको विधेयकको बारेमा । तर तपाईँको सहसचिव मुकुन्द आचार्य सहसचिव हुनुभएको बेलामा जसरी यो गठन आदेशलाई तपाईँहरूले परिवर्तन गर्नुभयो, त्यो परिवर्तनमा नेपाली चलचित्र कर्मका कर्मसँग आबद्ध सङ्घसंस्थाको सहमति छ रु सहमति बेगर तपाईँले मूल दस्ताबेजलाई परिवर्तन गरेर सदस्यलाई सहसचिवको स्तरबाट घटुवा गरेर उपसचिवमा ल्याएर सदस्य नै नभएको सदस्यसचिवलाई सदस्यबाट सदस्यसचिवमा बढुवा गरेर ६५ हजार रुपैयाँको लालच अध्यक्षलाई फालेर जुन दस्ताबेज परिवर्तन गर्नुभयो, लाइन मिनिस्ट्रिको आधारमा तपाईँले चलचित्र उद्योगप्रति गर्नुभएको सबैभन्दा ठूलो विश्वासघात हो । वर्तमान गठबन्धनको सरकारले आफ्नो म्यानिफेस्टोमा सगर्व उद्घोष गरेबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रूपमा अपग्रेड गर्नुहोस् । त्यो हो भने सहमति प्राप्त हुनसक्ला अन्यथा तपाईँको मन्त्रालयमा कहीँबाट सरुवा भएर आएको आधारमा चलचित्र क्षेत्रको क, ख, ग नबुझेको अनेक किसिमका औतारी मानिसको ह्वीममा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई जे मन लाग्यो त्यही गरेर परिवर्तन गरिरहन सक्दैनौँ । लडेरै ल्याएको हो, फेरि पनि ल्याउँला तर प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित देख्दैनौँ । तपाईँहरूले जुन दस्ताबेज अघि सार्नुभएको छ, स्वायत्तताको त कुरा छोडौँ, यसले मन्त्रालयको निरंकुशतालाई झनै बढाउँछ । विचौलियका रूपमा जुन अस्वस्थ भूमिका चलचित्र विकास बोर्डले खेल्दै आएको छ, त्यो झनै बढाउँछ । यसमा पुनः विचार होस् । हामीलाई नसोधी जुन परिवर्तन गर्नुभयो, त्यसलाई तत्काल खारेज गरी चलचित्र विकास बोर्डलाई हामीले सहमति जनाएको अवस्थामा फिर्ता लग्नुस् । वा तपाईँको मन्त्रालयको कुनै पनि हस्तक्षेप नहुने गरी स्वतन्त्र चलचित्र आयोग गठन गर्नुस् । शिक्षक, चिकित्सक, स्थानीय तहका कर्मचारी, विद्यार्थी सबै सडकमा छन् । राजनीतिक कर्मीहरूले हरदम असन्तुष्टिका आवाज संसदमा पोखेका छन् । अब त्यसमा चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहनुहुन्छ तपाई रु यदि त्यो चाहना हो भने बाध्यतावाश त्यतातिर सोच्नुपर्छ ।’

वरिष्ठ कलाकार शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै विस्थापित गर्ने चेतावनी दिए ।

उनले भने ‘तपाई कसलाई प्रतिनिधित्व गर्नुहुन्छ भन्नेकुरा मैले बताइसकेँ अध्यक्ष ज्यु । तिनलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ । तिनको भावनाअनुकुल र व्यवसाय र पेसा अझ त्यसमा श्रीवृद्धि गर्नेकुरामा सघाउ पुर्याउन सक्नुहुन्छ भने अध्यक्षका रूपबाट त्यहाँ अघि बढ्नुस्, त्यसमा सबै चलचित्र क्षेत्रका मानिसले दिल खोलेर साथ दिनेछन् । त्यसमा डग्मगाएको एउटा मात्रै झिल्को देख्यौँ भने नबिर्सिनुस्, तपाई बसेको कुर्सी पनि अस्थायी हो । जसरी स्थापित गरिएको थियो । त्यसरी नै विस्थापित गर्न सकिन्छ, यो मेरो चेतावनी हो ।’

वरिष्ठ कलाकार शाहले चलचित्रकर्मीको सहयोग गरे सबैले साथ दिने बताए ।