बाढीले मेची राजमार्ग फेरि अवरुद्ध

पाँचथर : लगातार परेको वर्षाका कारण बाढी आएपछि मेची राजमार्ग र तमोर करिडोरसहित विभिन्न सडकखण्ड अवरुद्व भएका छन्।

सोमबार राति परेको वर्षाका कारण हेवा र तमोर खोलामा बाढी आउँदा मेची राजमार्गअन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड फेरि अवरुद्व भएको हो।

तमोर करिडोरअन्तर्गत नावा खोलामा आएको बाढीका कारण एउटा टिपर खोलाभित्रै फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

धनकुटा-पाँचथर जोड्ने उक्त खोलाको बाढीका कारण तमोर करिडोर भएर पाँचथर चल्ने यातायातका साधन ठप्प भएका छन्। जिल्लाका सहायक सडकमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तमोर करिडोरका साना ठूला खोलानालामा आएको बाढीले सडकखण्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए। निरन्तरको वर्षाका कारण असार ३ गतेयता मेची राजमार्गसहित विभिन्न सहायक सडकमा आवागमन प्रभावित हुँदै आएको छ।