राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित

काठमाडौं /  राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित गरियो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न एक समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपति घिमिरेकी पत्नी महाकाली घिमिरे, साहित्यकार रमा शर्मा र राष्ट्रकविका कृतिमा विद्यावारिधी गर्ने डा. लेखप्रसाद निरौलालगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्।

नेपाल शिक्षा परिषद् तथा साझा प्रकाशनको संयुक्त आयोजनामा भएको विमोचन समारोहमा प्रमुख अतिथि उप्रेतीले उक्त पुस्तक लामो प्रतीक्षापछि आएकोमा पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका निभाएका राष्ट्रकविका परिवारका सदस्यलाई धन्यवाद दिए।

उनले भने, ‘यो पुस्तकको प्रतीक्षा गरेको धेरै भएको थियो। कसरी कोबाट कहिले आउँछ भन्ने प्रतीक्षा हामीलाई थियो। आज त्यो प्रतीक्षाको घडी सकिएको छ। कृति पाठकमाझ आएकोमा हामी निकै खुसी भएका छौं।’

कार्यक्रममा राष्ट्रकविकी छोरी शान्ति अधिकारीले पुस्तक तयार पार्ने क्रममा बुवासँग जोडिएका पलहरूको स्मरण गर्दै कविता वाचन गरिन्।

बुवाकै प्रेरणाले संगीतमा लागेकी अधिकारीले ऋतंभराका केही श्लोकमा संगीत भरेकी छन्। राष्ट्रकवि घिमिरेको शोककाव्य गौरीकी पात्र मध्येकी शान्ति एक हुन् भने अर्की पात्र उनकी बहिनी कान्ति घिमिरे न्यौपाने पनि कार्यक्रममा उपस्थित थिइन्।

राष्ट्रकवि घिमिरेको शकुन्तला, मालती मंगले, हिमालपारि हिमालवारिलगायतका गीतिनाटक, आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चालगायका निबन्ध र बाला लहरी, बिजुले र बिजुलालगायतका बालरचना छ।

उनका इन्द्रकुमारी, किन्नर किन्नरी, गौरी, चैत वैशाख, राजेश्वरी, राष्ट्रनिर्माता र विषकन्या लगायतका कृति पनि निकै चर्चित छन्।

Comments are closed.