‘हल्कारा’ बाफ्टाको छनोटमा

 

काठमाडौँ — विक्रम सापकोटा  ले निर्देशन गरेको  नेपाली फिल्म ‘हल्कारा’ बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलतर्फ अफिसियल छनोटमा परेको छ । यसअघि वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, छायांकन र अभिनेताको अवार्ड जितेको यो फिल्म बाफ्टाको ‘कर्माथन बे फिल्म फेस्टिभल’अन्तर्गत छनोटमा परेको हो । ‍

 

फिल्मका निर्देशक सापकोटाले फेसबुकमा लेखेका छन् । हाम्रो फिल्म ब्रिटिस एकेडेमी (बाफ्टा) क्वालिफाइङ फिल्म फेस्टिभल ‘कर्माथन बे फिल्म फेस्टिभल’मा अफिसियल छनोटमा परेको खबर घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं । फिल्मको यूके प्रिमियर हेर्न अनुरोध गर्न चाहन्छु,’ ।

गाउँमा खबर पुर्‍याउने एक पात्रको कथा समेटिएको यसै फिल्मका अभिनेता महेश त्रिपाठीले पनि सापकोटाको उक्त पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

यसै फिल्मबाट उनले पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड  पाएका थिए   । महेश अभिनित फिचर फिल्म ‘चपलीहाइट ३’ भने हलमा प्रदर्शनमा आइसकेको छ ।