प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बाल निबन्ध’ प्रकाशन गरेको छ। प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागले बाल निबन्ध प्रकाशित गरेको हो।

विभागले यसअघि बालकथा र बाल गजलका संग्रह प्रकाशन गरेको थियो। बालगीत संग्रह पनि प्रकाशनको तयारीमा रहेको विभागले जनाएको छ।

प्राडा भागवत ढकालको सम्पादन रहेको यस कृतिमा १२७ साहित्यकारका बाल निबन्ध संकलन गरी प्रकाशन गरिएको विभागका प्रमुख डा. देवी नेपालले जानकारी दिए। पहिलो खण्डमा बालनिबन्धको सैद्धान्तिक स्वरूप छ। जसमा निबन्ध र प्रबन्धबीच फरक, निबन्धको चिनारी, वर्गीकरण र तत्वहरूबारे लेखिएको छ।

यसैगरी दोस्रो खण्डमा कृष्णचन्द्रसिंह प्रधान, महाकवि लक्ष्मीप्रसाद देवकोटा, श्यामप्रसाद शर्मा, प्राडा उषा ठाकुर, आनन्ददेव भट्ट, तारानाथ शर्मा, डा. मानसाग्नि, भीम खतिवडा, प्राध्यापक राजेन्द्र सुवेदी, शैलेन्दुप्रकाश नेपाल, लेखप्रसाद निरौला, गोपीकृष्ण ढुंगाना, हरिहर तिमिल्सिना, सरोज घिमिरेलगायतका बाल निबन्ध छन्।