‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ पुस्तक लोकार्पण

‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ पुस्तक लोकार्पण

काठमाडौँ —  कलाकार मनुजबाबु मिश्रको जीवनीमा आधारित पुस्तक ‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ सार्वजनिक गरिएको छ । सोही अवसरमा नेपाली परम्परागत शिल्पकलाबारे तयार गरिएको संगोष्ठी प्रतिवेदनलाई पुस्तकका रुपमा विमोचन गरिएको  थियो ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलगायतको उपस्थितिमा मंगलबार प्रतिष्ठानका कुलपति केके कर्माचार्य र चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले दुवै पुस्तकलाई लोकार्पण गरेका हुन् ।

‘बहुआयामिक व्यक्तित्व मनुजबाबु मिश्र’ पुस्तकलाई कलाकार तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय बान्तवाले लेखेका हुन् भने ‘नेपाली परम्परागत शिल्पकला : संगोष्ठी प्रतिवेदन’ लाई कलाकार एवं कला समीक्षक मुकेश मल्ल र ज्ञानेन्द्र विवशले लेखेका हुन् ।

लेखक बान्तवाले मनुजबाबु मिश्रका बहुआयामिक पक्षलाई पुस्तकमा उतार्ने कोसिस गरेका छन् । उनले मिश्रको पारिवारिक पृष्ठभूमि, बाल्यकाल किशोवस्था, शिक्षा,जागिरे जीवन, साहित्य र कला सिर्जना यात्रा, उनका सिर्जनाका शैली, प्रवृत्ति, विश्लेषण, सिर्जनामा सामाजिक तथा राजनीतिक प्रभावलाई मिहिन ढंगले प्रस्तुत गरेका छन् । मिश्रको कला सिर्जनाको साधनाबाट प्रभावित भएरै आफू कलाकार बनेको सुनाउँदै बान्तवाले उनले दिएको प्रेरणाका कारण नै मिश्रलाई पुस्तकमा उतारेको बताए । ‘तिमीलाई भगवानले कला सिर्जना नै पठाएको हो । तिमीले एकैठाउँमा बसेर थुप्रै सिर्जना सक्छौं भनेर उहाँले मलाई ऊर्जाशील बनाउनुभयो’, उनले भने, ‘उहाँ यथार्थवादी, घनवादी, रेखा, मुहारचित्र मात्र होइन साहित्यमा निबन्ध विधामा पनि पोख्त हुनुहुन्थ्यो ।’ मिश्रको सिर्जना प्रवृत्तिलाई साधारण कलाकारको आँखाले मात्र हेर्ने प्रयास गरेको उनले सुनाए । मिश्रको व्यक्तित्वबारे कला लेखक तीर्थ निरौला, समीक्षक मल्ल, प्राज्ञ राजभण्डारीलगायतले चर्चा गरे ।

कार्यक्रममा सहभागी मिश्रका कान्छा छोरा रोशन मिश्रले आफ्नो बाबुको व्यक्तित्वका बारे पुस्तक आएकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठान र लेखक बान्तवालाई धन्यवाद ज्ञापन गरे । आफ्नो बाबुमात्र नभएर थुप्रै दिवंगत कलाकारका बौद्धिक सम्पत्तिको सुरक्षा र संरक्षण नभई छरपस्ट अवस्थामा रहेको उनले बताए । उनले भने, ‘मेरो बुवाको सबै बौद्धिक सम्पत्ति मैले सुरक्षित राखेको छु । बुबाको बौद्धिक सम्पत्तिलाई संरक्षण गर्न संग्रहालय नै बनाउने सोचमा लागेको छु ।’ स्रष्टाको बौद्धिक सम्पत्ति सुरक्षित राख्न आफू मात्र नभएर सबै स्रष्टाका परिवारलाई निकै चुनौती रहेको उनले दुखेसो गरे । त्यसको संरक्षण गर्न प्रतिष्ठानजस्ता संस्था र राज्य लागेमा स्रष्टाका बौद्धिक सम्पत्ति सय वर्षसम्म सुरक्षित रहन सक्ने उनले बताए ।

शिल्पकला र यसको महत्त्वबारे भने प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले प्रस्ट्याए । कलामा मात्र नभएर व्यापारलगायत जुनसुकै क्षेत्रमा शिल्पकला, सीपको आवश्यकता परेको सुनाउँदै उनले यसैबाट देश र जनतालाई सीपयुक्त बनाउन सकिने धारणा राखे । प्रतिष्ठानले विभिन्न कार्यशाला, प्रदर्शनीजस्ता कार्यक्रमहरु गरेर कला प्रवर्द्धनमा जोड दिए पनि आर्थिक अभावकै कारण सोचेको कार्ययोजना पूरा गर्न नसकेको कुलपति कर्माचार्यले सुनाए ।